कञ्चनरुपमा जनप्रतिनिधिको मनमौजी : रकम पाएको दुई महिनामा पनि ७ वटा वडाले राहत वितरण गरेन

  • श्रावण ६, २0७७
  • 0
...

किशोर पासवान

कञ्चनपुर,साउन ५ गते । जनता भोकले मरेपछि कञ्चनरुप नगरपालिकाद्धारा दोस्रो चरणको राहतका लागि ७० लाख एक हजार रुपैया बिनयोजन गरेको दुई महिना बित्न लाग्दा समेत ७ वटा वडाले राहत वितरण गरेको छैन ।

गत जेष्ठ १३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त रकम विनयोजन गरेको थियो । तर असारे विकासमा लागेका वडाअध्यक्षहरुले विनयोजित रकमबाट गरिब जनतालाई राहत वितरण गरेको छैन । गरिव तथा मजदुरका लागि बिनयोजित ७० लाख रकममध्ये करिब ४१ लाख रुपैया जनप्रतिनिधिहरुले खर्च नगरी राखीरहेका छन् । अहिलेसम्म वडा नम्बर १२,८,५,४ र १०ले मात्रै रात वितरण गरेका छन् ।

वडा नम्बर १० ले पनि पूर्णरुपमा राहत वितरणको कार्य सकेको छैन । वडाअध्यक्ष दिलिप चौधरीले ९० प्रतिशत राहत वितण गरिएको बताए । कञ्चनरुपको वडा नम्बर १,२,३,६,७,९र ११ ले राहत वितरण गरेको छैन । वडा नम्बर २ का वडा अध्यक्ष मेहदी हुसेनले वडासचिवलाई राहत लिनेहरुको नामावली तयार गर्न भनेकोले अब चाडै राहत वितरण गर्ने बताए । वडाअध्यक्ष हुसैनले भने,‘ लिस्ट तयार गर्न भनेको छु, अब २÷३ दिनमा राहत वितरण गर्छु ।’

वडा नं ११ का वडाअध्यक्ष जिब्रिलले पहिलो चरणको राहत वितरणमा विवाद भएकोले अहिलेसम्म वितरण नगरिएपनि यो साता बितरण गर्ने तयारी गरीरहेको बताए । वडा नम्बर ७ का वडाअध्यक्ष हरिकृष्ण महतोका अनुसार राहत प्याक गरेर मिलमा राखिएको भएपनि वर्षातका कारणले गर्दा वितरण गर्न नसकिएको बताए । यसअघि कञ्चनरुप नगरपालिकाका कार्यपालिका बैठकले राहत वितरणका लागि ४३ लाख एक हजार र प्रदेश २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा ५८ लाख एक हजार रकम बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टीका कञ्चनरुप नगरपालिकाको संयोजक रामदेव मण्डलले वडा नम्बर ११मा पहिलो चरणमा राहत स्वरुप जनताका लागि खरिद गरिएको ८७ हजार बराबरको साबुन र माक्स वडाअध्यक्ष जिब्रिलले वितरण नगरी राखेको बताए । उनले भने,‘ जनप्रतिनिधिहरु असारे विकाशमा व्यस्त छन्,हामीले पटक पटक राहत वितरण गर्न आग्रह गरेका छौं तर पनि वडाअध्यक्ष मनमौजी तरिकाले अघि बढीरहेकोले राहतको लागि समेत आन्दोलन गर्न बाध्य पारिदैँछ ।

प्रतिक्रिया