कर्जन्हा, १५ श्रावण । करोडौको लगानीमा गाउँमै खानेपानीको योजना निर्माणको शिलान्याश भएपछि कर्जन्हा वासी खुसी भएका छन् ।
सिरहा जिल्लाको १७ पालिका मध्ये कर्जन्हा नगरपालिकाको केहि वडाहरुमा खानेपानीको समस्या विगत देखि नै रह्दै आएको अवस्थामा यहाँका जनप्रतिनिधीहरुले खानेपानीको समस्या समाधान गर्ने तर्फ लागि परेका छन् । वर्षै देखि कर्जन्हा नगरपालिका वडा नं. १ र २ लगायतका विभिन्न वडाहरुमा देखिएको खानेपानीको समस्या समाधानका लागि नगर प्रमुख गंगा पासमानले खानेपानीको शिलान्याश गरेको हो ।
कर्जन्हाकी उपप्रमुख ज्ञान कुमारी र वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर खत्रीको समन्वयमा र सबल नेपालको सहकार्यमा खानेपानी निर्माणको कार्य शुरुभएको स्थानियहरुले जानकारी दिए ।
वर्षौ देखिको समस्या समाधान स्थानिय प्रतिनिधीहरुको अगुवाइमा हुन लागेपछि त्यहाँका जनताले नगर प्रमुख पासमान, उप प्रमुख श्रेष्ठ, वडा अध्यक्ष केसी र सबल नेपालका कर्मचारीहरुलाई फुलमालाले स्वागत सहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख पासमानले खानेपानीको समस्या अब जडै देखि समाधान हुने बताए ।
मानिसको जीवन यापनका लागि पानी नभइनहुने वस्तु रहेकाले खानेपानीको भरपुर व्यवस्था गर्ने जिम्मा नगरपालिकाको रहेको हुँदा शिथासिघ्र निर्माणको कार्य सम्पन्न गरि प्रयोगमा ल्याउने वातावरण मिलाउन नगर प्रमुख पासमानले कर्मचारीलाई निर्देशन दिए ।
ठोस रुपमै खानेपानीको समस्या समाधानका लागि हामीले बल्टिया खानेपानी तथा सरसफाई योजना ल्याएका हौ । यसको निर्माणको कार्यमा सहयोग गर्ने सबल नेपाल डब्लु एस एस लगायतका सबै गैर सरकारी संस्था तथा आम जनसमुदायलाई धन्यवाद दिदै थप सहयोग गर्न आग्रह गरे । नगरपालिकामा देखिएको विभिन्न समस्याहरु मध्ये खानेपानी समेत एक मुख्य समस्या रहेको अवस्थामा हामीले नगर सभाबाटै खानेपानीको लागि रकम छुट्टाएर नगरमा देखिएको यस गम्भीर समस्यालाई समाधान गर्न लागेको नगर उप प्रमुख श्रेष्ठले बताए ।
बल्टिया खानेपानी तथा सरसफाई योजना निर्माणमा लाग्ने कुल लाग्त १ करोड ५१ लाख ७१ हजार ९ सय ६३ मा ५० लाख सबल नेपालले सहयोग गर्नेछ भने बाँकी रकम नगरपालिका आफैले व्यहोर्ने कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले जानकारी दिए । सबल नेपालले कर्जन्हा नगरपालिकाको सरसफाईको क्षेत्रमा विगतकै वर्ष देखि काम गरिरहेको र सरसफाई सम्बन्धि देखिएका विभिन्न समस्याहरु सबल नेपालले समाधान गर्नका लागि नगरपालिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको र त्यसै कार्यक्रम अनुसार खानेपानी योजना समेत रहेको सबल नेपालको पि.सि.केशव राज पन्तले जानकारी दिए । आफुहरु कर्जन्हा नगरपालिकाको सरसफाईमा काम गर्न दिनरात तयार रहेको अवस्थामा यहाँको जनप्रतिनिधी र आम जनताको सहयोग र साथ अनिवार्य रहेको सलब नेपालकी कर्जन्हाको लागि फोकल पर्सन ममता वर्माले बताइन् ।
प्रतिक्रिया