कञ्चनपुर,भदौ ९ गते । सशस्त्र प्रहरीले मंगलबार बिहान सप्तकोशी नदीमा डुङ्गाबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको १७५ बोरा हरियो मटर बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नम्बर गणबाट खटिएको गस्ती टोलीले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका–११ स्थित गोबरगाढाबाट अवैध रुपमा ६ वटा डुङ्गमा लैजादै गरेको हरियो मटर बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नम्बर गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले प्रत्येक बोरामा २० किलोका दरले मटर भएको बताए । बरामद मटरको बजार मूल्य तीन लाख ५० हजार रहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिइएको मटर र डुङ्गालाई तिलाठी कोइलाडी गाउँपालिका १ बेलही स्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको छ । नेपाल भन्दा भारतमा मटरको बिक्रि मूल्य अत्यधिक रहेकोले तस्करहरुले तीन वटा सानो र तीन वटा ठूलो डुङ्गामा लोड गरि बिहान ४ बजेतिर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीको गस्ति टोलीले नियन्त्रण लिएको उनले बताए । बिहान ४ बजे अंध्यारो भएका कारण तस्करहरु फरार भएकोले कोही पक्राउ नपरेको उनले खोजी कार्य भइरहेको बताए ।
एक दिन अगाडी आइतबार सशस्त्र प्रहरीले ट्रकसहित ३० लाख मूल्य बराबरको छ सय कार्टुन मदिरा नियन्त्रणमा लिएको थियो । भारततर्फ लादै गरेको अवस्थामा जिल्लाको राजगढ गाउँपालिका वार्ड नम्बर १ बनैनिया स्थित झौरहा चोक नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया