कञ्चनपुर,भदौं १० गते । राष्ट्रिय सभाका सांसद शेखर सिंहले कोशी क्षेत्रको जनताको पिडा सम्बोधन गर्न पहल गरिरहेको बताएका छन् । जनता समाजबादी पार्टी नेपालका कञ्चनरुप नगरपालिकाका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद सिंहले कोशी क्षेत्र र मध्यवर्ती क्षेत्रका जनताहरुले भोगिरहेको समस्याबारे यसअघि पनि संसदमा कुरा उठाएको बताए ।
अन्नपूर्ण बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रत्येकदिन एक जना नयाँ कार्यकर्ता बनाउँन निर्देशन दिदैँ सांसद सिंहले जनता समाजवादी पार्टी देशको बलियो शक्तिका रुपमा स्थापित हुने बताए । सप्तकोशी नगरपालिका र कंचनरुप नगरपालिकामा रहेको विभिन्न नदीहरुको निरिक्षण तथा केही दिन अघि मात्रै आएको बाढीबाट पीडित परिवार तथा नदीबाट प्रभावित किसानहरुको समस्यालाई बुझ्न निरिक्षण गरिएको बताइएको छ ।
असार र श्रावण महिनामा आएको बाढीबाट त्यस भेगका सयौं किसानको हजारौं बिगहा जमिनमा लगाइएको धानबाली पूर्ण नष्ट भएको थियो भने सयौं बिगहामा कटान लागेको बताइएको छ । सांसद सिंहले निरिक्षण पश्चात सम्बन्धित पालिकाको प्रमुखहरुसँग छलफल गरी पीडितको लागि क्षतिपूर्ति तथा अगामी दिनमा यस्ता समस्या आउन नदिन के कसो गर्नुपर्ला विषयमा छलफल समेत गरेका छन् । जसपाका नगरअध्यक्ष सुदम्बर यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सभासद् सूर्यनाथ यादब, जसापा नेपाल पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, तिलाठी कोइलाडी गापा अध्यक्ष सतिश सिंह,जसपाका दलित संघका अध्यक्ष श्याम सरदार,जसजाका क्षेत्रिय अध्यक्ष माधव चौधरी,यूवा नेता अनोज यादब,कल्पना चौधरी,रामेश्वर यादब लगायतका सहभागिता रहेको थियो ।
जसपाका कञ्चनरुप नगरकमिटीका सचिव चितरंजन यादबद्धारा संचालित कार्यक्रममा दुई दर्जनभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया