सप्तरी,भदौ १२ गते । राष्ट्रिय मानवअधिकार आयोगले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका थुनुवा विजय रामको यातनाबाट मृत्यु घटनाबारे छानविन थालेको छ ।
बिहीबार बिहान गरुडा नगरपालिका–८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए ।
आयोग प्रवक्ता सचिव वेद भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,‘ ‘प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुनु अत्यन्त दुःखद् हो। उनलाई हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगबाट अनुसन्धान सुरू भएको छ,।’ हिरासतमा चरम यातना दिएपछि उनको मृत्यु भएको भन्ने जानकारी आएपछि आयोगको प्रदेश नम्बर २ कार्यालयले अनुसन्धान थालेको हो । सो क्रममा रामको स्वास्थ्य परीक्षण प्रतिवेदन र पोष्टमार्टम उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागलाई पत्राचार गरिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।
जातीय विभेदका घटनाहरू सम्बन्धमा सधैं संवेदनशील भएर काम गर्दै आएको स्मरण पनि आयोगले गराएको छ। यसअघि पनि प्रदेश नम्बर २ अन्तर्गत धनुषामा प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पताल जनकपुरधाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभुवन रामको हत्या, सिरहामा रोशन रामको हत्यालगायत श्रृङ्खलाबद्ध रूपमा दलित समुदायमाथि हत्या, हिंसा तथा जातीय विभेदका घटनाहरू भइरहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ। पछिल्लो समयमा कालिकोट, कैलाली, रूकुम, इलामलगायतका जिल्लाहरूमा समेत दलित समुदायमाथि हत्या, हिंसाका घटनाहरू भइरहेको आयोगले जनाएको छ। ‘यी घटनाहरू जातीय विभेदको स्थितिलाई समाजबाट निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानको धारा २४ बमोजिमको छुवाछूत तथा भेदभावविरूद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा ४० बमोजिमको दलितको हक, धारा १६ बमोजिमको सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ तथा नेपाल पक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ विपरीत रहेको आयोगले जनाएको छ। आयोगले अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया