रौतहट । थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् । उनले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् ।
उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय महराको थुनामै रहेका बेला बिरामी परी उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको बताउँदै आएको छ । दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शनसमेत भइरहेको छ ।
प्रतिक्रिया