सप्तरी, १७ मङ्सिर । बालविवाह अन्त्यका लागि सप्तरीको राजविराजमा बुधवार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत केअमावि राजविराजमा बालविवाह सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अभियानको मूल समारोह समितिको आयोजना एवम् समग्र जनउत्थान केन्द्रको संयोजनमा भएको कार्यक्रममा सहभागीहरुले बालविवाह हुँदा हुने समस्याहरुको बारेमा मन्तव्य प्रकट गर्नुभयो ।
सहभागीहरुले गरिबी, अशिक्षा र चेतनाको कमिले बाल बिवाह बढ्दै गएको बताउनु भयो । अशिक्षा र चेतनाको कमिले बाल विवाहले अझै पनि समाजमा जरो गाडदै गएकोले बालबालिका सम्बन्धी ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी मूल समारोह समितिका संयोजक इन्सेक प्रतिनिधी मनोहर पोखरेलले बालविवाह गरिदिँदा बालापन समाप्त हुनुका साथै शिक्षाबाट बालबालिका बञ्चित हुन पुगेको औल्याउनु भयो । परम्परागत संस्कृति, धार्मिक र जातिय व्यबस्थाका साथै दाइजोसँग बालविवाह जोडिएकाले सर्बप्रथम त्यस्ता संस्कृति र व्यवस्थालाई बदल्नुपर्ने जिकिर गर्नुहुँदै पोखरेलले विशेषगरी किशोरीहरूलाई सशक्तिकरण गर्नुपर्ने बताउनु भयो ।
समग्र जनउत्थान केन्द्रका रोशन मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, पत्रकार ध्रुब मण्डलले बाल विवाह बालअधिकार, महिला अधिकार, मानव अधिकार र विकासको बाधक रहेको बताउनु भयो ।
वक्ताहरुले बालविवाह गैरकानुनी भएको र यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनु पर्ने हुँदा यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज उठाउनुपर्ने धारणा समेत राख्नु भयो । १६ दिने अभियानअन्तर्गत बिहीबार राजविराजस्थित पविमाविमा बालविवाह सम्बन्धी अन्तरक्रिया तथा महेन्द्र चुन्नी मा.वि. मानराजामा बक्तृत्वकला र चित्रकला प्रतियोगिता राखिएको छ ।
प्रतिक्रिया