राजकुमार साह
कञ्चनपुर, पुस १४ गते । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीको आक्रमणमा परि चालु आर्थिक बर्षको ६ महिना नबित्दै १९ जनाको ज्यान गएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहा, सुनसरीका सूचना अधिकारी झोलाई चौधरीको अनुसार जंगली हात्तीको आक्रमणमा परी चालु आवमा सबभन्दा बढी व्यक्तिको ज्यान गएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आ.व. २०७५ ÷ ०७६ मा ८ जनाले र आ.व. २०७६ ÷ ०७७ मा ४ जनाले ज्यान गुमाउनु परेको थियो । पछिल्लो पटक सुनसरीको कोशी गाउँपालिका –४मा जंगली हात्ती मोकनाको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोकनाले दर्जनभन्दा बढी व्यक्तिलाई मारेको भएपनि राज्यपक्षले नियन्त्रण नगरेको भन्दै स्थानीयले पूर्व पश्चिम लोकमार्गमा हात्तिबाट मारिएका कोशी गाउँपालिका – ४ का १९ बर्षीय मोती कामतको शव सडकमा राखेर चक्काजाम गरेका थिए । सोमबार राती करिब ८ः३० बजेको समयमा जुद्घगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्बपश्चिम लोकमार्गको कोशी कटानमा टायर जलाएर बिरोध प्रदर्शन स्थानीयहरुले गरेपछि केहि समय सम्म सडक अबरोध भएको थियो । कोशी गाउँपालिकाका जनप्रतिनिधीहरु,स्थानीय समाजसेविहरु , जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख सहितको उपस्थीतिमा मृत्कका आफ्नत ,स्थानीयसंग सहमति पछि सडक सुचारु भएको थियो । सहमतिपछि पीडित परिवारले शब पोष्टमार्टमकोलागि सुनसरीको ईनरवा अस्पताल पठाउन तयार भएका थिए । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहा, सुनसरीका सूचना अधिकारी झोलाई चौधरीको अनुसार हात्तीको आक्रमणवाट ज्यान गएको कामतको परिवारलाई मंगलबार नै ५० हजार क्रिया खर्च उपलब्ध गराइएको छ ।
नेपाल सरकारले वन्यजन्तुवाट पीडित परिवारलाई राहत उपलब्ध गराउने कानुनी ब्यवस्था गरेका छन् । सूचना अधिकार चौधरीका अनुसार मोकना हात्ती नियन्त्रण कसरी गर्ने बारे अध्ययनका लागि बुधबार चितवन राष्ट्रिय निकुञ्जबाट एक विज्ञ टोली र वन मन्त्रालयलाई अन्तर्गत डिभिजन कार्यालयबाट संयुक्त रुपमा टोली आइरहेको बताए ।
प्रतिक्रिया