शिक्षक, अभिभावक र बिद्यार्थीबीच अन्तरक्रिया : विद्यार्थीको चाप बढदैछ,अनुशासन कमजोर हुँदै गएको छ

  • पुष २७, २0७७
  • 0
...

राजविराज, पुस २७ गते । पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयका सह–प्रधानाध्यापक मोहन मिश्रले विद्यार्थीको चाप बढदै गएको र अनुशासन कमजोर हुँदै गएको बताएका छन् ।
राजविराजमा शिक्षक, अभिभावक र बिद्यार्थीहरुसँगै बसेर शिक्षाको अधिकार र समस्याबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजनामा गरेको अन्तरक्रियामा सह–प्रधानाध्यापक मिश्रले सो कुरा बताएका हुन् । विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक, बिद्यार्थीका साथै सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्ने मिश्रको भनाई थियो । 

नगरस्तरीय मानवअधिकार समूहको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिला शिक्षक निता यादवले स्वास्थ्य सुरक्षा अपनाउँदै बेञ्चमा २ जना बिद्यार्थी राखेर पढाउन सुरु गरिएकोमा बिद्यार्थी सङ्ख्या बढ्दै गएपछि ५ जनासम्म राखेर पढाउनु पर्ने अवस्था आएको बताइन । अर्की महिला शिक्षक डल्लीकुमारी सिंहले सर्तकतापूर्वक पढाउन थालिए पनि कतिपय अभिभावकले सरसफाई नगरी र मास्क समेत नदिएर बालबालिकालाई बिद्यालय पठाउने गरेको गुनासो गरिन । 

अभिभावक बशिष्टनारायण झाले सरकारले महत्व र सुविधा दिएपछि सामुदायिक बिद्यालयतर्फ आर्कषण बढदै गएको तर शिक्षा समन्वय इकाई र स्थानीय तहको ध्यान पुग्न नसकेको बताए । बिद्यार्थी पुनम भगतले पुरै घण्टी कक्षा हुन नसकेकोले परीक्षाको तयारीमा अवरोध भएको र प्रयोगात्मक कक्षा नहुने गरेको बताए । बिद्यार्थी संगीता यादवले सरसफाई कर्मचारी भएपनि शौचालय फोहोर रहने गरेको, सबै बिद्यार्थीहरुको गृहकार्य परीक्षण नहुने गरेको बताए । 

महिला शिक्षक सुमित्रा दासले अभिभावकलाई समय–समयमा बिद्यालय आएर अनुगमन गर्न आग्रह गर्नुभयो भने महिला शिक्षक राशोदेबी साहले स्टाफ नर्स नियुक्त भएपनि ज्वरो नाप्ने थर्मामिटर, साबुनदेखि स्वास्थ्य सामाग्रीको व्यवस्था हुन नसकेको बताए । अभिभावक जितेन्द्र झाले कोभिड–१९ को जोखिमप्रति बिद्यालय सतर्क नदेखिएको र कतिपय शिक्षकहरुको पढाउने कार्यमा रुची नदेखिएको भन्नु हुँदै शिक्षा समन्वय इकाईले छडके अनुगमन गर्नुपर्ने बताए । अभिभावकहरुले बिद्यार्थीहरुसँग मासिक, त्रैमासिक परीक्षा लिई मूल्यांकन प्रणाली अपनाउन सके बिद्यार्थी र अभिभावक सचेत हुने बताए ।     

कार्यक्रमका प्रमुख अतिथी इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले एक पक्षको अधिकारसँगै अर्को पक्षको कर्तव्य जोडिएकाले अधिकारसँगै जिम्मेवारी निर्वाहप्रति सबै जना गम्भिर बन्नु पर्ने बताए ।  शिक्षक, अभिभावक र बिद्यार्थीले पालना गर्नुपर्ने नियम बनाउन र समय–समयमा अन्तक्रिया गर्न उनले सुझाव दिए । कार्यक्रमको अध्यक्षता गर्नु भएका मानव अधिकार निगरानी समूहका संयोजक रघुबर साहले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको विषयमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिए । साहले सरोकारवालाहरूबीच समस्याहरू केलाउन र समाधानको उपाय खोज्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । सहजकर्ता दिपककुमार यादवले कार्यक्रमको उद्देश्य बताएपछि सुरु भएको अन्तरक्रियामा पत्रकार दिनानाथ यादव, शिक्षक गिरीराज पौडेल, अभिभावक रामअवतार मण्डल, बिद्यार्थीहरु राधाकुमारी यादव, राकेश यादव, बिरेन्द्र यादवलगायतले समस्याबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया