राजकुमार साह
कञ्चनपुर,फागुन ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ५मा कोरोनो महामारीको बेला राहतको पाउनका लागि फारम भर्न गैरकानूनीरुपमा पीडितसँग २५ रुपैया असुल गरेको घटना सेलाउँन नपाउँदै भूमिहिन तथा गरिब जनताको गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरणका नाममा ५० लाखभन्दा बढी रकम असुलेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष कैलास साहले गाउँ ब्लक जग्गाधनीको पूर्जा दिलाईदिनेभन्दै ५० लाखभन्दा बढी रकम असुलेको खुलेको छ । देशका विभिन्न जिल्लामा गाउँब्लक जग्गाको धनी पुर्जा वितरण गर्न मन्त्री तथा पालिका प्रमुखहरुले भव्य कार्यक्रम गर्ने गरेको छ तर कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष साहले आफना ६ जना कार्यकर्ता इसराईल मंसुरी,दर्पी पण्डित,हरि दयाल मुखिया,शिवचरण मुखिया,चनरदेव सरदार र भोला पण्डित र वडाअध्यक्ष स्वयम समेतले पैसा लिएको पीडितहरुले बताएका छन् ।
कञ्चनरुप नगरपालिकाका अन्य वडामा नापी गरेको गाउँ ब्लक जग्गा धनी पुर्जा वितरण भइसकेको छ । जुन ठाउँमा विवाद छ,त्यहाँ पुर्जा वितरण गर्न बाँकी छ । वडा नम्बर ५मा साविक ७ वडामा १६ विगहा १९ कट्टा जग्गा गाउँ ब्लक नापी भएको छ । नापी भएको मध्ये साविक प्रिपापूर्व वार्ड नम्बर ८का १३२ र १०८ नम्बर ब्लकका जग्गाको पुर्जा वितरण भइरहेको छ । गाउँ ब्लक जग्गामा बस्ने गरिब व्यक्तिहरुमध्ये कतिपयले सकयडा ५ रुपैया ब्याजमा त कतिपयले कानको सुन समेत बन्धकी राखेर वडाअध्यक्षलाई पैसा बुझाएका छन् । वडाअध्य साह र उनका कार्यकर्ताहरुले नापी कार्यालयका कर्मचारीहरुलाई खानपिन र सहयोग गरेवापत रकम दिनुपर्छ भन्दै पैसा असुलेका छन् । वडा नम्बर ५ स्थित स्वास्थ्य चौकीका सिनियर अहेब बैजनाथ पण्डितले वडा कार्यालयले प्रतिधुर एक हजार रुपैया तिरेपछि मात्रै पुर्जा पाउने बताएपछि आपूmले पनि ३४ धुर ब्लक जग्गाको ३४ हजार रकम तिरेको बताए । उनले भने,‘ गाउँमै पैसा उठाउन दर्पी पण्डित र भोला पण्डित लगायतको व्यक्तिहरुको समूहे पैसा उठाएको हो,मैले पनि उनीहरुलाई नै पैसा दिएको हुँ ।’
वडा नम्बर ५का वडाअध्यक्षकै छिमेकी तथा वडा नम्बर १२को स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव भरत साह समेतले वडाअध्यक्ष कैलाश साह लगायत उनको टिमले आफुसँग पनि पैसा मागेको बताए । उनले भने,‘ मेरा २८ धुर जग्गाको लागि मसँग पनि २८ हजार रुपैया मागेको छ,तर म आफै नापी कार्यालयमा गएर बुझदा कुनै पैसा नलाग्ने थाह पाएपछि तिरिन । ’ सिनियर अहेव साहले गाउँमा गरिब जनतासँग ५० लाखभन्दा बढी रकम असुल गरेको बताए । स्थानीय ७५ बर्षिया एकल महिला बिबिफातिमाका अनुसार वडाअध्यक्षकै निर्देशन अनुसार गाउँका इसराईललाई ५४ धुर जग्गाको लागि दुई किस्तामा ५० हजार रकम बुझाएको बताइन । ‘ उनीहरुलाई पैसा दिन मेरो बुहारीले खिखरी पट्टिको हरिदया गोडियासंग सयकडा ५ रुपैया ब्याज तिर्नेगरि ऋण लिएकी छिन् । म आपूm पनि २५ हजार ऋण लिएर दिएको छु ।’
जेष्ठ नागरिक बिबिफातिमाका अनुसार आफनो जेठो छोरा अफाक मंसुरिको मृत्यु भइसकेको र सानो छोरामा ५ वटा बच्चा छन । विधवा बुहारी अरुमा मजदुरी गरेर गुजारा चलाउछिन । वास डिह जग्गा बाहेक केही छैन । खेती योग्य जग्गा छैन । पैसा दिइ सकेको छु । आउने शनिवार फागुन १ गते दिन्छु भनेको थियो । तर पुर्जा दिएनन् । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउने आशमा खुशी थिए । तर कतिपय व्यक्तिको पैसा लिएपनि वडाअध्यक्ष साहले विभिन्न वाहानामा वडाबाट सिफारिस नदिएपछि पुर्जा पाउनबाट बञ्चित भएका छन् । स्थानीय मिनादेवी साहका अनुसार आपूmले पनि वडाअध्यक्ष कैलास साहलाई २१ हजार रुपैया तिरेर लालपुर्जा लिएको बताइन् । उनले भनिन,‘ मैले कानको सुन बन्दधकी राखेर वडाअध्यक्षले नै पैसा तिर्नुपर्छ भनेपछि पैसा दिएर लालपुर्जा लिएकी हुँ ।’
त्यस्तै स्थानीय सिताराम पंडितले समेत एक धुर जग्गाका लागि एकहजार बुझाउनु पर्छ भन्नेपछि १५ हजार रकम रमतुला मियालाई दिएर पुर्जा लिएको बताए । उनले भने,‘ म लगाएत तीन जनाले रमतुलालाई पैसा बुझाए । उनका अनुसार पैसा उठाउने विषयमा वडाअध्यक्ष जानकार रहेको बताए । उनले भने,‘ गाउँमा यत्रो काम भइरहेको छ उहाँलाई जानकारी नहुने कुरै भएन ।उहाँलाई सव थाह छ । कति पैसा उठेको छ । विना उनको जानकारी विना यत्रोकाम हुनै सक्दैन ।’ त्यस्तै अर्का पीडित श्यामदेवी सरदारले १५ धुर जग्गा वापत वडाअध्यक्ष साहलाई १५ हजार रकम बुझाएको बताइन । उनले भनिन, ‘ वडाअध्यक्ष साहले जग्गा पासको लागि प्रतिधुर एक हजार रकम मागेपछि दिएको हुँ । तर मेरो पुर्जा वडाअध्यक्षकै जिम्मा छ ।’
वडाअध्यक्ष कैलास साहले भने, पैसा संकलनमा आफने कुनै संलना नभएको दावी गरे । उनले भने,‘ मलाई आरोप लगाएर के हुन्छ मैले पुर्जा दिने हो र विपक्षीहरुले मलाई बदनाम गर्न यो सब गरिरहेको छ । रकमबारे कुनै जानकारी छैन । ’ स्थानीय संगिता ठाकुरका अनुसार आपूmले समेत पुर्जाको लागि पैसा दिएपनि पुर्जा नपाएको र पैसा पनि फिर्ता नपाएको बताइन् । तर यसअघि कोरोना माहामारीको बेला सोही वडामा वडाअध्यक्षकै मिलोमतोमा राहत वितरणको फारम भर्न समेत जनही २५ रुपैया असुल गरेको तथ्य सहितको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएको थियो । नापी कार्यालय सप्तरीका प्रमुख नापी अधिकृत शत्रुघन यादवका अनुसार कञ्चनरुप ५मा १ सय जनाको पुर्जा तयार रहेकोमा ६५ जनाले वडाअध्यक्षको रोहवरमा पुर्जा बुझेर लगेको बताए । उनले भने,‘ हाम्रो नाममा कसले कति पैसा उठाए,हामीलाई केही जानकारी छैन ।’ उनले भने,‘ वडा कार्यालयको सिरफारिस लिएको आएको खण्डमा पुर्जा बनाउन २५ रुपैया राजश्व वाहेक केही पनि चाहिदैन ।’ उनले भने,बाहिर हाम्रो नाम बेचेर कसले के गर्छ,त्या हामीलाई जानकारी पनि हुदैन ।’
नापी कार्यालय सप्तरीको सूचना अधिकार धर्मनारायण ठाकुरले सप्तरीको साविक ११४ वटै गाविसमा गाउँब्लक जग्गा छ । चालु आर्थिक वर्षमा ६२० हेक्टर गाउँ ब्लक नापी गर्ने योजना छ । सूचना अधिकारी ठाकुरले भने,‘अहिलेसम्म साविक एक सय गाविसको गाउँ ब्लक नापी भइसकेको छ । साविक ७ वटा गाविसको गाउँ ब्लकको जग्गा नाप्न बाँकी छ भने ६ ७ वटामा नापी हुदैँछ ।’ अहिलेसम्म कतिले पूर्जा पाए त्यसको यकिन तथ्याङ्क हेर्न समय लाग्ने सूचना अधिकारी ठाकुरले बताए ।
के हो गाउँब्लक
वि.सं. २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले विविध कारणले व्यक्तिको जग्गा छुट्याउन समय नभएपछि गाउँ ब्लकका नाममा सिङ्गो गाउँको एउटै कित्ता बनाएर जग्गा नापी गरेका थिए । नेपाल सरकारले वि.सं. २०६१/६२ देखि गाउँ ब्लकको जग्गा नापी गरी लालपुर्जा वितरण गर्न थालेको थियो । सप्तरीमा विसं २०६५ देखि गाउँ ब्लकको जग्गा नापी भइरहेको छ । नापी कार्यालयले अरु ठाउँमा नाप नक्सासहित अन्य सबै प्रक्रिया सकेपछि गाउँपालिकाको रोहवरमा सार्वजनिक कार्यक्रम आयोजना गरी जग्गाधनी पुर्जा वितरण गर्दै आएको छ ।
प्रतिक्रिया