यौन दुरव्यवहारको आरोप लागेपछि अस्पतालद्धारा डाक्टर निलम्बन,प्रहरीले हिरासतमा लिएर अनुसन्धान गर्दै

  • चैत्र १४, २0७७
  • 0
...

कञ्चनपुर,चैत १३ गते । सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैशवाल माथि बिरामीका आफन्तमाथि यौन दुरव्यवहारको आरोप लागेपछि उनलाई अस्पतालले निलम्बन गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालयलयमा उजुरी दिएपछि डाक्टर जैसवाललाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।  

अस्पताल प्रशासनले शुक्रवार जारी सूचनामा भनिएको छ,‘डा.जैशवालले एक जना कुरुवा (विरामीलाई हेरचार गर्ने व्यक्ति) लाई अभद्र व्यवहार गरेको भनि आएको गुनासोका कारण शुक्रवारदेखि नै उनलाई पदबाट निलम्बन गरिएको छ ।’ जयसवालले आफूलाई कार्यकक्षमा बोलाई इच्छाविपरीत संवेदनशील अंगमा छोएको पीडित महिलाले बताएकी छन् । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बिरामीका कुरुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाकी ३२ वर्षीया महिला अस्पतालमा दुई दिनअघि सुत्केरी भएकी नन्दलाई भेट्न आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दुर्व्यवहार गरेको उनले बताइन् । ‘मसँगै आएका श्रीमानलाई औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुर्व्यवहार गरे’ उनले भनिन्, ‘मैले चिच्याएपछि अरु मानिसहरु पनि आए ।’ चिकित्सकले नै आपत्तिजनक व्यवहार गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा बिरोध प्रदर्शन गरेका थिए ।

आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।  प्रहरी प्रमुख धमलाले भने ‘पीडित पक्षले उजुरी दिएको छ,हामी डाक्टरलाई हिरासतमा लिएर अनुसन्धान गर्दैछौं । विस्तृत जानकारी अनुसन्धापछि जानकारी गराउँछौ ।’  

प्रतिक्रिया