कञ्चनपुर,वैशाख २४ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–८ कोरोनाको हटस्पट बन्दैछ । शुक्रबार एक बालक सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,जसमध्ये १३ जना वडा नम्बर ८कै रहेको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा एक बालकसहित १७ जनामा संक्रमण देखिएको हो । सबै भन्दा बढी वडा नम्बर ८ मा १३ जनामा संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का १९, १९, ४०, ५८, १७, १९, ७५, १५ र ५५ वर्षीय पुरुष र ४०, ३१, ६४ र १७ वर्षीया महिला , वडा नम्बर २ का ९ वर्षीय बालक तथा ५० वर्षीय महिला , वडा नम्बर १२ का ३३ र ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ । यो सँगै कञ्चनरुपमा सक्रिय कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । कञ्चनरुप नपा–८का एक विवाहमा सहभागीमध्येका अधिकाशलाई कोरोना संक्रमण भएको पाइएको छ । विवाहको भोजमा सहभागी अधिकाशलाई कोरोना पोजेटिभ देखिएको छ ।
कञ्चनरुप नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका भित्र लाग्ने सबै हाट बजार बन्द गरेको छ । कुन व्यापार व्यसाय कति बजे संचालन गर्ने समय सिमा तयगरेको छ तर कञ्चनरुप नगरपालिका–८ लगायत मुुख्य बजारमा प्रहरी गएपछि बन्द गर्ने र प्रहरी हट्न वितिकै फेरी खोल्ने गर्दछ । बिहीबार कञ्चनपुर बजारमा आयोजित एक कार्यक्रममा स्वयम व्यापारीहरुले नै प्रहरी परिचालन गरेर बल प्रयोग गर्न वडाअध्यक्ष राजकुुमार साहलाई आग्रह गरेका थिए ।
कञ्चनरुप–८का वडाअध्यक्ष राजकुमार साहले थोरै पैसाको लागि नागरिकको ज्यान जोखिममा राख्न नहुने र नगरपालिकाले दिएको निर्देशन नमाने त्यस परिणाम स्वयम भोग्नुु पर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया