राजकुमार साह कञ्चनपुर, भदौ १३ गते । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ स्थित ठैलियाका दलित समुदाय उठिबास हुने चिन्ताले सताइएका छन् ।
वर्षौँदेखि आफूहरूले भोगचलन गर्दै आएको जमिन स्थानीय महिन्द्रप्रसाद साहले आफ्नो भन्दै दाबी गरेपछि उनीहरू चिन्तित भएका हुन् । दलित समुदायले भोगचलन गरिरहेको जग्गा आफ्नो भन्दै उनले कुतबापत प्रतिकठ्ठा ५ किलोग्रामका दरले बाली मागेपछि आफूहरू अचम्मित भएको स्थानीय पीडितमध्येका एक रामनारायण सदाले बताए ।
जबकि यो जग्गा महुली नदी उकासको हो । यहाँका ४० दलित परिवारले उक्त ऐलानी जमिनमध्ये २ देखि ४ कठ्ठासम्म भोगचलन गर्दै आएका छन् । जबकि गैरदलितले भने बिघाका बिघा भोगचलन गर्दै आएका रामनारायणले बताए । सदाका अनुसार बाजे, बाबुका पालादेखि स्थानीय दलितले उक्त नदी उकासको जमिन प्रयोग गर्दै आएका छन् ।
अहिलेसम्म कसैलाई कुत तिरेको पनि उनलाई थाहा छैन । जब महिन्द्रले कुत तत्कालै तिर्न दबाब दिँदै नत्र जग्गा खोस्ने धम्की दिए, त्यसपछि भने रामनारायणमात्र हैन, सिङ्गो गाउँ नै चिन्तामा फसेको छ । ‘चिन्ताले रातभर निद्रा लाग्दैन, यो जमिन छाड्नुपरे के खाने हो ?’– रामनारायणको भनाइ छ । स्थानीय दलित समुदाय कुत तिर्न तयार छन् तर उनीहरूको सर्त छ कि कुत तिरेबापत भर्पाइ पाउनुपर्छ र त्यो जमिन उसको भएको प्रमाण देखाउनुपर्छ । तर साह यसका लागि तयार नभएको रामनारायणको दाबी छ ।
स्थानीय देवन चौधरीका अनुसार साहले कुत नदिएको भन्दै दलित समुदायलाई यो जमिनबाट हटाउन षडयन्त्र गरेका हुन् । जसअनुसार पीडितहरूलाई विभिन्न दुःख दिने कार्यसमेत थालेका छन् । रामनारायण दलित समुदायका अगुवासमेत भएकाले विशेषगरी साहले उनलाई दुःख दिन थालेको स्थानीय बताउँछन् । यसै क्रममा रामनारायण सदाविरुद्ध महिन्द्रले उल्टै आफ्नी श्रीमतीमार्फत जिल्ला अदालतमा धान बाली लुटेको भनेर उजुरी नै दिए ।
त्यतिमात्र हैन, उक्त उजुरीको १५ दिनमै फेरि महिन्द्रले तिनै रामनारायणविरुद्ध उच्च अदालत राजविराजमा अन्तरिम आदेशसहित निषेधाज्ञा माग गर्दै अर्को उजुरी दिए । उनलाई दिइएको पीडा यतिमा पनि सीमित छैन । फेरि केही दिनपछि अदालतको अपहेलना गरेको उजुरी दिए । यसरी एकपछि अर्को मुद्दाको तारिख खेप्न बाध्य छन् रामनारायण ।
आफूले न कसैको बाली लुटेको न त अदालतको आदेश नै अवज्ञा गरेको रामनारायण बताउँछन् । तर पनि उनीविरुद्ध यस विषयमा मुद्दा हालेर दुःखमात्र दिन खोजेको उनको दुखेसो छ । खासगरी दलितहरू अझ त्यसमा पनि मुसहर समुदाय गरिब हुने भएकाले उनीहरूलाई मुद्दामा फसाइदिँदा हैरान भएर मुद्दा नै छाडिदिने अनि आफूले सहजै जीत हात पार्ने आकलन गरेर उजुरी दिने घटना धेरै पाइन्छन् ।
महिन्द्रले पनि दलित समुदायले कमाएका जमिन हात पार्न यही जुक्ति अपनाएको देखिन्छ । उसै त दलित, त्यसमा पनि अति नै विपन्न हुन्छन् मुसहर समुदाय । खाने, लगाउनेदेखि बच्चा पाल्ने र परिवारको व्यवस्थापन गर्न नै धौ धौ पर्ने गर्छ यो समुदायलाई ।
यस्तो अवस्थामा कसरी ३–४ वटा मुद्दा थेग्ने ? यसका लागि पैसा कहाँबाट जुटाउने ? दैनिक मजदूरी गरेर खानुपर्ने मान्छे पटक पटक कसरी बसमा २ घण्टा भन्दा पनि टाढाको सदरमुकाम राजविराज गइरहने ? यतिबेला यी कुनै पनि प्रश्नको उत्तर दिन सक्ने अवस्थामा छैनन् रामनारायण । यो जग्गामा महिन्द्रमात्र हैन, अन्यले पनि पटक पटक दाबी गर्ने गरेका छन् तर कसैको पनि प्रमाण नभएकाले अदालतले पन्छाइदिँदै आएको छ ।
तर पनि केही गरी हडप्न सकिन्छ कि भनेर विभिन्न रूपका मानिस दाबी गर्न आइरहेका स्थानीय बताउँछन् । जग्गाको मूल्य बढ्दै गएको र दलित समुदायले यो जग्गामा गरिखाएको देख्न नसकेर उनीहरू डाहाले भुतुक्कै भएका उनीहरूको भनाइ छ ।
प्रतिक्रिया